धनुषा । कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
खेती किसानी पनि गर्दै आउनु भएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताए । उनले भने, “एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँलगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाई दाइँ गर्ने परम्परा थियो । तर पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।”
गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्रयाक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान जगदीश यादवले बताए । उनका अनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हजाउँदै जान थालेको छ ।
थ्रेसर मेसिन, ट्रयाक्टर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए पनि मौलिक संस्कृति भने हराउन थालेको मिथिला नगरपालिका–६ ढल्केवरका ज्येष्ठ नागरिक रामवरण महतोको धारणा छ । उनी भन्छन्, “मेसिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले वातावरणमा नकारात्मक प्रभाव पर्नुको साथै जनस्वास्थ्यमा समेत असर परेको छ । श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्ध नागरिकलाई असर गरेको छ । आँखामा धुलो परेर समस्या सिर्जना हुने गरेको पनि छ । तर खेतमै खलो बनाई दाइँ गर्दा त्यस्तो समस्या हुँदैनथ्यो ।”युवा शक्ति विदेश पलायन हुनु, गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले पनि जिल्लाका किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् । यसबाट अन्न झार्ने तथा पराल भुसा वा नल एकैपटकमा माडिने हुँदा समय, श्रम र पैसाको बचत हुने गरेको किसान स्वयं बताउँछन् ।
धान उत्पादनमा वृद्धि हुने अनुमान
यसैबीच मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशका आठवटै जिल्लाबाट गतवर्षको तुलनामा यसवर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १२ लाख ९६ हजार छ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो । उनले चालु आर्थिक वर्ष २०८१/८२ मा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको जानकारी दिए ।
गत वर्षभन्दा यस आवमा धान रोपाइँ बढी क्षेत्रफलमा भएको हुँदा उत्पादनमा समेत वृद्धि हुने बताइएको छ । कषि प्रसार अधिकृत मेहताले गत वर्षको तुलनामा यस वर्ष पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको जानकारी दिए । आव २०८०/८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालु आवमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपिएको उहाँले जानकारी दिए ।
धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा यस वर्षमा शून्य दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ । गतवर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यसवर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
धानबाली रोपेको क्षेत्रफलको हिसाबले सबैभन्दा बढी सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ भने यहाँ दुई लाख ६१ हजार एक सय २० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । त्यस्तै सबभन्दा कम रौतहटमा ३७ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यहाँ रोपिएको धानबालीबाट एक लाख ५० हजार चार सय ८० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवको अनुसार पर्सामा ४६ हजार एक सय ८७ हेक्टर, रौतहटमा ३७ हजार छ सय २० हेक्टर, सर्लाहीमा ४५ हजार पाँच सय ४० हेक्टर, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको कृषि विकास निर्देशनालयले जनाएको छ । त्यसैगरी महोत्तरीमा ४१ हजार नौ सय ४२ दशमलव पाँच हेक्टर, सिरहामा ५२ हजार ३८० हेक्टर, सप्तरीमा ६५ हजार २८० हेक्टर र बारामा ४५ हजार ९९ दशमलव छ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलबाट १२ लाख ६३ हजार ९४१ मेट्रिक टन र आव ०७९–०८० मा तीन लाख ८१ हजार ६१३ हेक्टरमा १४ लाख २२ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसवर्ष खेती लगाउने बेलामा नै वर्षा भएकोले धान रोपाइँ पनि समयमै भएको र त्यसपछि पनि बेलाबेलामा वर्षा भएकाले धान उत्पादनमा वृद्धि भएको उनले बताए। रासस