Khabar Out
कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल विजयी


काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । 

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । उनी ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्दा सुरुदेखि दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यैगरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले  २ हजार ३६ मत प्राप्त गर्दै चौथो बन्न पुगे ।

यसअघि ०७९ को स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update