Khabar Out
दुई वर्षदेखि बरेङ गाउँपालिकामा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेपछि दुई वर्षदेखि बरेङ ‘शून्य होम डेलिभरी’ बनेको हो । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले पाँचवटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरेपछि गर्भवती सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै आउने गरेका छन् ।

महिलामा स्वास्थ्य सचेतना बढ्दै गएपछि कोही पनि गर्भवती महिला घरमा सुत्केरी नहुने बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिए । गाउँपालिकाले ‘शून्य होम डेलिभरी’ बनाउनका लागि कार्यविधि नै बनाएर लागेको जनाउँदै प्रत्येक महिना स्वास्थ्यकर्मी गर्भवतीका घरमा पुगेर गर्भ जाँच गर्ने र परिवारका सबै सदस्यलाई समेत सचेत गराउने गरेको उनको भनाइ छ । 

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई सरकारले दिन २८ यसबाहेक थप रु एक हजारदेखि रु तीन हजारसम्म यातायात खर्च दिने गरेको प्रमुख पुनले बताए । गत वर्ष पालिकाभर एक सय ३३ जनामा गर्भवतीमध्ये ७० जना गाउँपालिकाभित्रको बर्थिङ सेन्टरमा र अन्य सुविधा सम्पन्न अस्पतालमा पुगेर सुरक्षित सुत्केरी भएको उनको भनाइ छ । गाउँपालिकाले ‘पोसिलो नाङ्लो’ कार्यक्रममा र ‘पोसिलो झोला’ कार्यक्रम सञ्चालन गरेपछि स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने चेतनाको वृद्धि भएको पुन बताउँछन् ।

“पहिला घरमै सुत्केरी हुने चलन थियो, अहिले त्यो पूर्णरुपमा अन्त्य गरेका छौँ, यस वर्ष ‘पोसिलो झोला’ कार्यक्रम छ, यस कार्यक्रममा झोलामा सुत्केरीलाई चाहिने पोसिलो खाने कुरा हुन्छ, स्वास्थ्य चेतनासम्बन्धी किताब र पोस्टर हुन्छन्, अर्को ‘पोसिलो नाङ्लो’ कार्यक्रम पनि छ, यो कार्यक्रमअन्तर्गत सुत्केरीलाई एक नाङ्लो पोसिलो र स्वास्थ्यवद्र्धक स्थानीय उत्पादन दिने गरेका छौँ”, उनले भने ।

प्रमुख पुनले गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने नसक्ने र शल्यक्रिया गर्नुपर्ने महिलालाई थप रु पाँच हजार हजार यातायात खर्च दिने गरेको बताए । वडामै पुगेर भिडियो एक्स-रे गर्दा नै सामान्य सुत्केरी हुने र शल्यक्रिया  गर्नुपर्छ कि पर्दैन भन्ने थाहा हुने हुँदा त्यहीअनुसार गर्भवतीलाई जानकारी गराउने उनको भनाइ छ । 

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले ‘शून्य होम डेलिभरी’ बनाउनका लागि सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र आवश्यक उपकरण तथा औषधि व्यवस्थापन गरेको बताए । आर्थिक अवस्था कमजोर भएर कारण घरमै सुत्केरी हुने महिलालाई गाउँपालिकाले आर्थिक सहयोग गरेर स्वास्थ्य संस्थामा ल्याउने काम गरेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update