–राम थापा
कास्की । उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु भएका घटना बर्सेनि सुनिन्छन् । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठमा) यस्ता घटना बढी हुने गर्छन् ।
पदयात्रा र तीर्थयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा मात्र गत आवमा लेक लागेर २१ जना पर्यटकले ज्यान गुमाएका थिए । जसमध्ये ६ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक थिए । यसरी लेक लागेर मृत्यु हुनेको सङ्ख्या सालिन्दा बढ्दो छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन् । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटक उक्त समस्याबाट बढी प्रभावित हुने गरेका छन् ।
न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने उक्त स्वास्थ्य समस्याबाट कसरी जोगिने ? स्वास्थ्य सतर्कताका उपाय के छन् ? चिकित्सक रविरञ्जन प्रधान र पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ ।
सतर्कता र सावधानी
उच्च पहाडी या हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ । कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्न सक्छ । यो समस्या विशेष गरी मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकका बढी देखिने गरेको छ ।
काठमाडौँ उपत्यकालगायत तराई भेगबाट एकैदिनमा ३७ सय १० मिटरमा पर्ने मुक्तिनाथ र चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल पुग्दा लेक लाग्ने गरेका उदाहरण धेरै छन् । मुक्तिनाथ पुग्ने भारतीय पर्यटक पनि मोटर लिएर एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या बढी देखिने गरेको हो ।
लेक लागेर पर्यटकको मृत्यु हुने क्रम बढ्दै जान थालेपछि पछिल्लो समय मुक्तिनाथमा प्राररम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा ल्याइएको छ । पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैचोटिमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ ।
स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्दा लेक लाग्ने समस्याबाट बच्न सकिन्छ । पदयात्रा गर्ने पर्यटकले एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्नु राम्रो मानिन्छ ।
शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा निस्कुनपर्छ । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्नुहुँदैन । पदयात्रा गर्दा पथप्रदर्शक साथ लिएर जाँदा धेरै सहज हुन्छ । हिमाली क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य रहेकाले एक्लै जानु जोखिमपूर्ण हुन्छ । सामान्यतया समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा पुग्दा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन सक्छ ।
स्थानीय वातावरणमा अनुकूलन हुँदै अगाडिको यात्रा तय गर्नुपर्छ । जस्तो कि मुक्तिनाथ जानु छ भने एकदिन जोमसोममा विश्राम लिएर जानु उपयुक्त हुन्छ । तिलिचो ताल पुग्नु छ भने आधार शिविरमा एकदिन विश्राम लिनुपर्छ । हिमाली भेगको यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लामो दुरीको पदयात्रामा जानु छ भने समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्छ । हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।
लक्षण र उपचार
लेक लाग्नुलाई मेडिकल भाषामा ‘हाइपोब्यारिक हाइपोक्जिया’ भनिन्छ । यो समस्या अक्सिजनको कमीले हुने गर्छ । जुनसुकै उमेरको व्यक्तिमा लेक लाग्ने समस्या निम्तन सक्छ । लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन सक्छ । पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुहोस् । लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यानसमेत जान सक्छ ।
लेक लागेर सिकिस्त हुनुपर्व यति कुनै लक्षण देखिएको छ भने तत्काल यात्रा अगाडिको यात्रा रोकेर कम उचाइ भएको ठाउँमा फर्कनुहोस् । लेक लाग्न नदिन चिकित्सकले सुझाएको औषधि पनि खान सकिन्छ । तर सामान्य लक्षण देखिएपनि तल फर्किनुपर्छ । लेक लागेर जटिल अवस्थामा पुगेका बिरामीको समयमा उद्धार र उपचार हुन सकेन भने ज्यान जोखिममा पर्छ । हिँड्दा प्रशस्त पानी पिउनुपर्छ । लेक लागेको बेला आराम गर्ने पानी वा झोलिले खानेकुरा उत्तम मानिन्छ । पहिलोपटक धेरै उचाइमा पुग्नेलाई लेक लाग्ने सम्भावना बढी हुन्छ ।
लेक लाग्ने समस्याका तीन अवस्था हुन्छन् । पहिलो अवस्थामा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, कमजोर महसुस हुने जस्ता लक्षण देखिन्छन् । दोस्रो अवस्थामा फोक्सो सुनिने, फोक्सोमा पानी जम्ने, श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछ । तेस्रो र अन्तिम अवस्था भनेको मस्तिष्क सुनिनु हो । फोक्सो र मस्तिष्क सुनिएका बिरामीले समयमा उपचार नपाउँदा अवस्था गम्भीर भएर मृत्यु हुनसक्छ । जटिल अवस्थाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याइएका उदाहरण पनि छन् । रासस