Khabar Out
वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ

चितवन । डिभिजन वन कार्यालयमा १०२ मुद्दा फछ्र्योट हुन बाँकी छन् ।  आर्थिक वर्ष २०७६/७७  देखिका ती मुद्दा  फछ्र्योट हुन बाँकी रहेका हुन् । 

आव २०७६/७७ देखि चालु आवको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फछ्र्योट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तु सम्बन्धी मुद्दा हुन भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् । 

आव २०७६/७७ मा १३ , २०७७/७८ मा ३७, २०७८/७९ मा ४३  मुद्दा दर्ता भएका थिए । यस्तै २०७९/८० मा २७ , २०८०/८१ मा २९ र चालु आवको हालसम्म २०  मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्दाका ९९ फरार प्रतिवादी रहेको उनले जानकारी दिए। मुद्दामा संलग्न व्यक्तिहरुबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।

कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फछ्र्योट गर्ने विषयमा दुविधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरु गत आवबाट मात्रै फछ्र्योट हुन सुरु गरेको हो । फैजदारी संहिता आएसँगै रोकिएको फछ्र्योट गत आवमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फछ्र्योट सङ्ख्या कमी भएको हो ।

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कानुनल सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरु प्रदेश सरकारमा रहेकाले दुविधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update