Khabar Out
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, १० वटा घर जलेर नष्ट

इनरुवा  ।  सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुर)ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको हो । जहाँ ६० लाख बराबरक्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए । 

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए । 

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।  

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update