Khabar Out
पूर्वराजाको नयाँ वर्ष सन्देश : नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र र वाद हुँदैन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उल्लेख गरेका छन् ।

‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र मानवीय एवं भौतिक क्षतिबाट आफूलाई दुःख लागेको जारी शुभ कामना सन्देशमा उल्लेख गरिएको छ ।

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update