
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छन ।
नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै मन्त्री राणाले निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव हुने धारणा राखेकी थिइन ।
निजी क्षेत्रले लगानी विस्तार नगरे समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउँदै उहाँले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाएको भन्दै निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गरिन ।
‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो, ‘निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन । त्यसैले सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ । अब निजी क्षेत्रले पनि विना हिच्किचाहट लगानी बढाउनुपर्छ। निजी क्षेत्रले नै अर्थतन्त्रलाई ड्राइभ गर्ने हो ।’ परराष्ट्रमन्त्री राणाले भनिन ।
राणाले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताइन् ।
यस्तै मन्त्री राणाले पछिल्लो समय वैदेशिक सहायता केही कमी भएपनि निरुत्साहित नहुन निजी क्षेत्रलाई आग्रह गरिन।
सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रुपमा प्रयोग गरि विकासको गति तीव्र बनाउनुपर्नेमा समेत मन्त्री राणाको जोड थियो ।
यसैगरी सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
उद्योग वाणिज्य महासंघ सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।