Khabar Out
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । 
आज जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय सङ्गठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिए । उनले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताए । ।

“नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,” नेता निधिले भने ।  बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेकोे बताए । 

उनले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरे । 
    प्रदेशसभा सदस्य रामसरोज यादवले मधेस प्रदेशका विभिन्न विकास योजनाको प्रगति र सम्भावनाका बारेमा आफ्ना विचार व्यक्त गरे । 

बैठकमा कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुँवरकान्त झाले पार्टीको क्षेत्रीय विकास योजनामा सक्रियता र प्रभावकारिता थप बढाउनुपर्नेमा जोड दिए । बैठकमा सहभागी नेताहरूले आगामी स्थानीय, प्रदेश र सङ्घीय चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्नेमा सहमति जनाएका छन् ।

बैठकमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री यादव, पूर्वमन्त्री र मधेस प्रदेशसभा सदस्य, कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक झा, जिल्ला अध्यक्ष योगेन्द्र पञ्जियार, जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति एवं नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहलगायत क्षेत्रीय, जिल्ला तथा नगरका नेताहरूको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update