बागलुङ । नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहलपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डोर्याइरहेका त कोही भाले कोखिलामा च्यापरिहेका देखिन्थे । शक्तिरुवरुपा देवी कालिकाको पूजाअर्चनाका लागि टाढा–टाढाबाट दर्शनार्थी बागलुङ आइपुगेका थिए । मन्दिरको माहौलले दसैँ आएको आभास दिलाएको थियो ।
भक्तजनहरू एकापसमा शुभकामना साटिरहेका थिए । मन्दिर परिसरको वातावरण पर्वमय बनेको थियो । पूजाआजाका लागि व्यग्र भक्तजनले धर्मप्रतिको आफ्नो आस्थालाई झल्काइरहेका थिए । घण्टौँसम्म लाममा उभिँदा पनि उनीहरू शान्त र धैर्य देखिन्थे । पर्वतको पातीचौरकी चीनमाया पुनले विदेशमा रहेका छोराछोरीले धूपध्वजा चढाइदिन भनेकाले उनीहरूको मनोकामनाका लागि कालिका मन्दिर आएको सुनाइन् । धर्मकर्ममा विश्वास भएकाले बेलाबखत पूजाआजाका लागि मन्दिर आउने गरेको उनको भनाइ थियो ।
भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आउनुभएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताए । देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरू मन्दिर परिसरमा लामबद्ध थिए । मनोकाङ्क्षा पूरा गर्नकै लागि कतिपयले बोका, कुखुरा, हाँस, परेवा आदिको भाकल गरेका सुनाए । कोही भाकलको वाचा पूरा गर्न मन्दिर आएका भेटिए ।
बडादसैँको घटस्थापनादेखि मन्दिरमा भक्तजनको चहलपहल बढेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । दसैँको फूलपाती र अष्टमीका दिनमा ठुलो सङ्ख्यामा भक्तजन आउने उनको भनाइ थियो ।