Khabar Out
सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडौँ । प्रादेशिक कला प्रदर्शनी सातै प्रदेशमा सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गएको फागुन ४ गते गण्डकी प्रदेशबाट सुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी आज काठमाडौँमा समापन गरिएको हो ।

महिनाव्यापी रूपमा आयोजना भएको प्रदर्शनीको अन्तिम कार्यक्रम बागमती प्रादेशिक ललितकला प्रदर्शनी हो । गएको फागुन २६ गतेदेखि काठमाडौँमा सुरु भएको प्रदर्शनी आज समापन भएसँगै सबै प्रदेशमा प्रदर्शनी सम्पन्न भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए । उनले भने, ‘यसपालिको प्रादेशिक ललितकला प्रदर्शनी भव्य र सभ्य रूपमा सम्पन्न भयो ।’

ती प्रदेशहरूमा एक हजार दुई सयभन्दा बढी कला प्रदर्शनी गरिएको थियो । प्रदर्शनीले देशभर नै कलाको महत्त्व बढाएको र मौलिक तथा लुकेका कलासमेत उजागर भएको प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले बताए । 

गएको वर्षदेखि नेपालमा प्रादेशिक रूपमा कला प्रदर्शनी थालिएको हो । गत वर्षभन्दा यसपालि कला सृजना र कलाकारको सहभागिता उल्लेख्य रूपमा वृद्धि भएको छ । स्थानीय पालिका प्रदेश सरकार र विभिन्न सङ्घसंस्थाको सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कला प्रदर्शनी समन्वय र सहकार्य उल्लेख्य बढ्न थालेको पाइएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताए । ‘यसले देशभर नै कला गतिविधि बढाउँछ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।

प्रादेशिक प्रदर्शनीमा समावेश उत्कृष्ट चित्रहरूलाई आउँदो गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिने र सोही क्रममा प्रादेशिक तथा राष्ट्रिय पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यसपालि राष्ट्रिय प्रदर्शनीमा रु एक लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही रु ६० हजार राशिको ललितकला विधागत पुरस्कार र नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ । 

ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिकरआधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिकरआधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सृजनात्मक कलामा कलाकारलाई पुरस्कृत गरिनेछ । 

यस्तै प्रदेशगत रूपमा रु ५० हजार राशिको सबै प्रदेशबाट एक जना उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै रु ३० हजार राशिको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिकरआधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला तथा अन्य सृजनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।  

कुन प्रदेशमा कस्तो रहयो कला प्रदर्शनी 

यसपालि प्रादेशिक प्रदर्शनी उत्साहप्रद रहेको सम्बन्धित प्रदेशका संयोजकहरूले बताउनुभएको छ । ती प्रदेशमा भएका प्रदर्शनीमा झण्डै ६० हजारले अवलोकन गरेका छन् ।

यसपालि बागमती प्रदेशमा मात्रै दुई सय नौ जना कलाकारका दुई सय ४१ कलाकृति प्रदर्शनीमा राखिएको थियो । आज सकिएको बागमती प्रदेश कला प्रदर्शनीमा आठ हजारभन्दा बढीले अवलोकन गरेको अनुमान गरिएको छ ।  

गत फागुन ४ गतेदेखि प्रादेशिक कला प्रदर्शनी सुरु भएको थियो । फागुनको ४ देखि ८ गतेसम्म पोखरामा भएको गण्डकी प्रादेशिक प्रदर्शनीमा आठ हजार बढीले अवलोकन गरेका प्रतिष्ठानको गण्डकी प्रदेश समन्वय समितिकी संयोजक सौरगङ्गा दर्शनधारीले जानकारी दिए । त्यहाँ सबै विधाका ९० वटा कला प्रदर्शनीमा राखिएको थियो । 

यस्तै फागुन ६ देखि १० गतेसम्म कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी भएको थियो । त्यहाँ ६५ जना कलाकारका ७० वटा कला प्रदर्शनी भएको थियो । सो प्रदर्शनीमा सात हजार हाराहारीले अवलोकन गरेका प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिका संयोजक पाल्साङ्मो लामाले जानकारी दिए । कर्णालीमा राउटेका कला प्रदर्शनी र कार्यशालासमेत आयोजना भएको थियो । 

उता सुदूरपश्चिम प्रदेशमा फागुन ८ देखि १२ गतेसम्म भएको प्रदर्शनीमा १० हजारले अवलोकन गरेका प्रतिष्ठानको सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रदर्शनीमा एक सय २० कलाकारका दुई सय कलाकृति प्रदर्शनीमा राखिएको थियो ।

फागुन १० देखि १४ गतेसम्म आयोजना गरिएको लुम्बिनी प्रादेशिक कला प्रदर्शनीमा एक सय २३ कलाकारका एक सय ८० कलाकृति प्रदर्शनी भएको थियो । उक्त प्रदर्शनीमा आठ हजार बढीले अवलोकन गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक दिनेश्वर महतोले जानकारी दिए ।

कोशी प्रदेशमा फागुन १६ देखि २० गतेसम्म आयोजना गरिएको प्रादेशिक कला प्रदर्शनीमा एक सय ९७ कलाकारका दुई सय ३० कलाकृति प्रदर्शन भएको थियो । उक्त प्रदर्शनीको १० हजारले अवलोकन गरेको अनुमान गरिएको प्रतिष्ठानको कोशी प्रदेश समन्वय समितिका संयोजक सञ्जय वान्तवाले जानकारी दिए ।

त्यसपछि मधेस प्रदेशस्तरीय ललितकला प्रदर्शनी यही फागुन २० देखि २४ गतेसम्म भएको थियो । उक्त प्रदर्शनीमा एक सय ५५ कलाकारका दुई सय पाँच वटा कलाकृति समावेश भएकामा उक्त प्रदर्शनीको सात हजार बढीले अवलोकन गरेका प्रतिष्ठानको मधेस प्रदेश समन्वय समितिकी संयोजक अरुणा हिङमाङले जानकारी दिइन् । रासस

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update