Khabar Out
प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ?

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद मुक्ताकुमारी यादवले एसईई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याको समाधान छिटा गरिनुपर्ने बताइन् ।

सांसद मेटमणि चौधरीले दाङका मोही किसानहरूले न्यायका लागि धर्ना बसेको ३८ दिन बितिसक्दा पनि कुनै सुनवाइ नभएकाले समस्याको सुनवाइ गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी नगरपालिकाका–२ मा पर्ने सडक ठेक्कामा समस्या देखिएकाले पुनः ठेक्का लगाइ काम अगाडि बढाउन आग्रह गरे ।

सांसद मनिष झाले सडकमा सरकारप्रति असन्तुष्टि बढिरहेकाले विश्वासको वातावरण तय गर्न सुझाव दिए ।

यसैगरी सांसद माधव सापकोटाले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा जोड दिए ।

सांसद मीना तामाङले जनआन्दोलनबाट प्राप्त संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

सांसद मेनकाकुमारी पोखरेलले राष्ट्रिय राजमार्गमा मर्मत सम्भारका लागि बजेट नछुट्याउँदा दुर्घटना बढिरहेकाले सरकारको ध्यान जानुपर्ने बताइन् ।

सांसद रणकुमारी बलम्पाकी मगरले उत्पादित जुनारलाई भण्डारणका लागि सरकारबाट बजेट बिनियोजनको माग गरिन् । त्यसैगरी सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा चैते धानका लागि सिँचाइको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

सांसद रनेन्द्र बराइलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अनावश्यक तनाव दिन उपयुक्त नरहेको धारणा राखे ।  

सांसद राजेन्द्रकुमार केसीले नेपाल प्राकृतिक प्रकोपको जोखिम भएको मुलुक भए पनि राहत, उद्धार र पुनःनिर्माण प्रभावकारी हुन नसकेको बताए ।

सांसद रामकुमार राईले असोजमा आएको बाढीले लगेको फोक्सिङटार पुलको स्रोत सुनिश्चित गरेको, दुधकोशी हाइड्रोको मुआब्जा वितरण भएकामा सरकारको कामको प्रशंसा गरे ।

सांसद रामकिशोर यादवले नेपालमा पुनः राजतन्त्र स्थापना गर्न खोज्नु गलत रहेको बताए । सांसद रोशन कार्कीले राजनीतिक दलप्रतिको असन्तुष्टिले राजसंस्थाको समर्थनमा सर्वसाधारणको भीड देखिएको बताए ।

सांसद रामशंकर यादवले गाउँ ब्लकको जग्गा समाधान भइसक्दा पनि लालपुर्जा वितरण नभएको र त्यसको वितरणको माग गरे । सांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा स्वास्थ्य बिमाको रकम समयमा निकासा नभएकाले यथाशीघ्र रकम पठाउन माग गरे ।

सांसद रुक्मिणी राना बराइलीले देशको अनौपचारिक र औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐनको प्रत्याभूति गर्न नपाएकाले श्रम ऐन कार्यान्वयनमा जोड दिइन् । सांसद लक्ष्मी तिवारीले हवाई सुरक्षामा गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update