काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार संकटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणको अन्तिम खेलमा पुलिस र संकटाले प्रतिस्पर्धा गरेका थिए । जहाँ विभागीय टोली पुलिसले संकटा क्लबमाथि २–१ को जित निकाल्दै लिगमा छैटौँ जित निकालेको हो ।
पुलिसको जितमा अनुष्का शेर्पा र समीक्षा शेर्पाले गोल गरिन् । संकटाकी सेलिना एनिमाले गोल फर्काएकी थिइन् । लिगमा यसअघि नै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने टोलीको टुंगो लागिसकेको थियो । तर, दुवै टोली पहिलो चरणको अन्तिम खेल जित्दै पहिलो चरणको खेल पूरा गर्न चाहन्थे ।
प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पुलिसले तेस्रो स्थानका लागि अंकतालिकामा अग्रता लियो । यता, संकटाले भने नवौँ खेलमा पाँचौँ हार व्यहोर्दै लिग यात्रा टुंग्यायो । हारपछि संकटाले छैटौँ स्थानमा रहेर लिगको यात्रा टुङ्गाउने अवसर पनि गुमाउन पुग्यो । संकटा छैटौँ स्थानको वाग्मती युथ क्लबभन्दा तीन अंकले मात्र बढी छ । समान ९ खेलबाट वाग्मतीको १० अंक र संकटाको आठ अंक छ ।