Khabar Out
च्यासल खेलमैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर महानगरपालिका- ९ च्यासलस्थित मनोहरा खोलाकिनारमा रहेकाे च्यासल खेलमैदान गत असोजमा आएकाे बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु. दुई करोड आवश्यक हुने बताएका छन् । 

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु. दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुन्दासले बताए। उनले भने, ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार ललितपुर महानगरपालिका- ९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरोकार भएकाहरू मौन रहेकामा उनी दुःखी छन्  । खेलकुद परिषद्सँग रु. १० लाख माग गरेकाे, तर हालसम्म निर्णय नभएको उनको कथन छ । 

ललितपुर महानगरपालिका- ९ का वडाध्यक्ष राजु महर्जनले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए । दशरथ रंगशालाको विकल्पका रूपमा परिषद्ले  रु. २८ करोड खर्चेर ०७६ सालमा उक्त मैदान तयार गरेको हो ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update