काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकाय र सन्तोषी श्रेष्ठले जितेका छन् ।
शनिबार भएको म्याराथनअन्तर्गत पुरुषतर्फ विजेता राजनले निर्धारित दूरी १ घण्टा ६ मिनेट १० सेकेण्डमा पूरा गरे । आर्मीकै खडकबहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो भए । खडकले १ घण्टा ६ मिनेट १५ सेकेण्ड र जुलियसले १ घन्टा ६ मिनेट २० सेकेन्डमा दूरी पूरा गरे ।
त्यस्तै, महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेकी हुन् । आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन् । पूर्णलक्ष्मीले १ घण्टा २२ मिनेट ५१ सकेन्ड र पुष्पाले १ घन्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।
त्यस्तै, पुरुष खुला १० किलोमिटर दौडमा सञ्जय विजयी भए । सञ्जयले निर्धारित दूरी ३० मिनेट १०.७ सेकेण्डमा पूरा गरे ।
त्यस्तै गरी महिला ५ किलोमिटर तर्फको उपाधि एपिएफ क्लबकी फुलमती रानाले जितिन् । उनले निर्धारित दूरी २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । ह्विलचेयर पुरुष तर्फ भने रमेश खत्री विजयी भए । उनले निर्धारित दूरी ११ मिनेट ५० सकेण्डमा पूरा गरेका थिए ।
त्यस्तै ह्विलचेयरकै महिला तर्फ भने ऐश्वर्य कुमारी कुमालले पहिलो स्थान हासिल गरिन् । उनले निर्धारित दूरी १५ मिनेट ४४ सेकेण्डमा पूरा गरिन् । नेपाल भेटेरिनरी संघको आयोजनामा भएको राइट टु प्रोटिन रनको विजेता सन्तोषी र राजनले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
म्याराथनमा भाग लिनेसबैलाई मेडल वितरण गरिएको थियो भने विजेताहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नगदसहित ट्रफि वितरण गरेका थिए ।