काठमाडौँ । सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ । समाजद्वारा आज नुवाकोटको शिवपुरी–७ सूर्यचौर आयोजित समारोहमा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८१’ पर्वतको महिलाद्वारा सञ्चालित सामुदायिक रेडियो दिदी बहिनी ९५।२ मेगाहर्जलाई प्रदान गरिएको हो ।
‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कार जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका राजधानी दैनिकका बझाङ संवाददाता डिवी विष्ट र ‘योसमय’ अनलाइन न्यूज पोटरका सम्पादक ध्रुव रावललाई प्रदान गरिएको आयोजकले जनाएको छ । ती पुरस्कारको राशि क्रमशः रु २५ हजार र रु १५÷१५ हजारसहित प्रमाणपत्र रहेको छ ।
समाजलाई लामो समय अभिभावकत्व प्रदान गरेकामा संस्थापक अध्यक्ष वियोगीकी धर्मपत्नी ९० वर्षीया कृष्णवदन वैद्यलाई अभिनन्दन गरिएको थियो । समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्यामकाजी डोटेल, संरक्षक किरण वैद्य, कोषाध्यक्ष माधव दुलाल र सदस्य नारायण उपाध्यायले आफ्नो संस्थाले गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र र पुस्तकालय स्थापना गरेकाले पत्रकारिता क्षेत्रमा अध्ययन र अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे । रासस