काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।
मूल्य वृद्धिसँगै पहिलो वर्ग पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्ग अन्तर्गत प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्गमा पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ ।
यसैगरी प्रतिलिटर पहिलो वर्ग डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्ग प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ र तेस्रो वर्गलाई डिजेल र मट्टीतेलको मूल्य १५६ रुपैयाँ पर्नेछ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने दोस् वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई राखेको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।