Khabar Out
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण

 

मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ ।

इच्छाकामना गाउँपालिका–१ का तीनवटा चेपाङ बस्तीका छ सय ५० घर र रत्ननगरका तीन सय परिवारलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष धुर्व गिरीले बताए । मङ्गलबार रत्ननगर वडा नं ८ का चौधरी समुदायका ३२ परिवारलाई चुलो वितरण गरिएको उनले जानकारी दिए । विपन्न समुदायका महिलाको स्वास्थ्य जोगाउन चुलो वितरण गरिएको उनले बताए ।

चुलोसँगै विपन्न समुदायका बालबालिकालाई पौष्टिक आहार सर्वोत्तम पीठो तथा  रत्ननगर वडा नं १ निपनी स्थित ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update