Khabar Out
म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यः टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग

म्याग्दी । कालीगण्डकी नदीको तीरदेखि धौलागिरिको शिरसम्मको भूगोलमा फैलिएको म्याग्दी पर्यटन विकासका अथाह सम्भावनाले भरिपूर्ण छ । हिमाल, पहाड र वेशीको विविधतायुक्त विशाल भूगोलमा रहेका अनगिन्ती सुन्दर दृष्यहरु म्याग्दीका चिनारी हुन् । जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये उदाउँदो पर्यटकीय गन्तव्य हो, टोड्के–धौलागिरी पदमार्ग । 

रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्र समेटिएको टोड्के हिमशृङ्खला र मनोरम प्राकृतिक दृष्य अवलोकनका लागि चर्चित गन्तव्यको रुपमा परिचित छ । अग्लो डाँडामा रहेको टोड्केबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । टोड्केलाई केन्द्रविन्दु बनाएर पहिचान गरिएको सातदेखि १० दिनसम्मको पदयात्रा ‘टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग’ म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र रघुगङ्गा गाउँपालिकासँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले गत वर्ष अध्ययन अनुसन्धान गरेको यस पदमार्गमा धार्मिक, ऐतिहासिक र नयाँ पर्यटकीय गन्तव्य तथा मगर, छन्त्याल लगायतका जातजातिका परम्परागत गाउँ बस्तीहरुलाई समेटिएको छ । 

पछिल्लो समय सडक सञ्जालको पहुँचले परम्परागत पदमार्गहरु मासिएको र पदयात्रा गराउने नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहेको सन्दर्भमा यो पदमार्ग लामो र छोटो दुवै विकल्पका लागि उपयुक्त रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

“पहिलेका अधिकांश पर्यटकीय गन्तव्यमा सडक सञ्जालले जोडिन थालेका छन्, क्याम्पिङ टुरिजम हराएर जाने अवस्थातिर धकेलिएको छ, यस्तो अवस्थामा नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी र अनुसन्धान गरिनुपर्छ, टोड्केदेखि धौलागिरि आधार शिविर हुँदै लेते निस्कने यो पदमार्ग म्याग्दीका लागि सम्भावनायुक्त छ’’, उनले भने ।

पछिल्लो समय चर्चित बनेको पर्यटकीयस्थल टोड्केबाट धौलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गको पहिचान गरिएको छ । टोड्केदेखि मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी, घ्यासीखर्क हुँदै धौलागिरि हिमालको दक्षिणी आधार शिविर भएर कालीबराह ताल, सोबाङ धुरी हुँदै मुस्ताङको लेते जोड्ने गरी टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्गको पहिचान गरिएको हो । 

डाँडाकाँडाको यात्रा र हिमालको दृष्य नियाल्न मात्रै होइन नेपाली परम्परागत ग्रामीण जीवनशैलीको अध्ययन र अवलोकनका लागि पनि टोड्के–धौलागिरि पानोरमा पदमार्ग उत्कृष्ट मानिएको छ । मगर, छन्त्याल, दलितलगायतका जातजातिको बसोबास रहेको यस पदमार्गमा पर्ने गाउँबस्तीको मौलिक भू–वनोट र चिटिक्क मिलेका ढुङ्गेघरका लस्कर पर्यटकलाई लोभ्याउने प्राचीन कलाकृति मानिन्छन् । हिमालको आँगनमा मिलेका गाउँबस्ती परम्परागत जीवनशैलिको अध्ययन गर्ने थलोको रुपमा छन् ।

मनोरम टोड्के

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित टोड्के सूर्योदय, हिमाल र ग्रामीण भूगोलको अवलोकनका लागि उत्तम मानिन्छ । मिर्मिरको उज्यालोसँगै चम्किला किरण छर्दै आउने सूर्योदयको दृष्यले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । आँखै अगाडिका हिमालमा सूर्योदयका किरणले भर्ने चमकले फुरुङ्ग हुने पर्यटक अग्लो डाँडाबाट फन्को मारेर विविधतायुक्त ग्रामीण गाउँबस्तीको भूगोललाई नियाल्दा उत्साहित हुने गर्छन्।

गुराँसे जङ्गलले घेरिएको टोड्के छोटो दुरीमा पुग्न सकिने प्रख्यात पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । थरिथरिका गुराँस फुल्ने यो क्षेत्रमा हिउँदयाममा हिउँमा खेलेर रमाउन पर्यटक उक्लिने गर्छन् । टोड्केमा उत्पादन हुने मुला, आलु र सिमीको स्वाद पर्यटकको रोजाइमा पर्छ । 

पर्यटकीय सम्भावनाले मात्रै धार्मिक दृष्टिकोणमा यो ठाउँ उत्तिकै महत्वपूर्ण मानिन्छ । यहाँ स्वर्गद्धारी शाखा आश्रम निर्माण गरिएको छ । प्यूठानमा अवस्थित स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको कारण यस शाखा आश्रममा साधु सन्त र तस्बिरले ध्यान र पुजापाठ गर्दै आएका छन् । 

मङ्गला गाउँपालिको पूर्णगाउँ र कुहुँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतबाट सहजै पुग्न सकिने टोड्केमा पर्यटकहरुको खाना र बसोबास सुविधाका लागि निजी क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन बढेको रिसोर्टका सञ्चालक भिम शेरचनले बताए ।

“पहिले यहाँ खाजा खाने ठाउँ थिएन, पर्यटकहरु आफैँ खाना खाजा लिएर आउने गर्थे, रिसोर्ट सञ्चालनमा आएपछि सवारी साधनबाट समूहमा घुम्न आउनेहरु बढेका छन्”, उनले भने । टोड्के जाने मुख्य मार्गमा समेटिएका झिँ र पूर्णगाउँमा होमस्टे सञ्चालनमा रहेका छन् । 

मनमोहक मालिका धुरी

यस पदमार्गमा मालिका धुरी अर्को मुख्य गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा रहेको मालिका धुरी रमणीय दृष्यको अवलोकनको लागि प्रख्यात छ । मालीका गाउँपालिका–७ र रघुगङ्गा गाउँपालिका–६ को सीमा क्षेत्रको पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीबाट वरिपरि हिमाल नियाल्दा मनै फुरुङ्ग बनाउँछ । 

यहाँको मनमोहकताले उकालो र जङ्गलको थकान भुलाइ दिने गर्छ । मन्दिर परिसरबाट आँखै अगाडि ठोक्किन आउने हिमालको लस्कर नियाल्दा खुसी, आनन्द र गौरवको महसुस गराउँछ । मालिकाधुरीबाट सूर्योदयको दृष्य मनमोहक देखिन्छ । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङ्खलालाई मालिका धुरीबाट एकैसाथ अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरताले प्रख्यात मालिका धुरी धार्मिक रुपमा महिमा बोकेको ठाउँ हो । यहाँ निर्माण गरिएको मालिकाको थानमा कालिका, मालिका र जालपादेवीको मूर्ति राखिएका छन् । मलिकाको पूजाआजा र भाकल गरेमा सन्तान, अध्ययन, रोजगारीलगायत मनोकाङ्क्षा पूरा हुने भएकाले चण्डी पूर्णिमा, भाइटिका, जेष्ठी पूर्णिमा र बालाचर्तुदशी पर्वमा भक्तजनहरुको भीड लाग्ने गर्छ । 

यहाँ म्याग्दीका मात्रै नभएर पर्वत, बागलुङ, कास्की, काठमाडौँलगायत स्थानबाट बर्सेनि हजारौँ भक्तजनको आगमन हुने गरेको छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलीको विकल्पमा नरिवल चढाउने चलन बसाइएको छ । 

यसरी पूरा हुन्छ पदयात्रा 

टोड्केबाट मालिका धुरी–ठाडाखानी–कुइनेखानी–चौरखानीतर्फ भएर घ्यासीखर्क पुगेपछि यस पदमार्गमा मानव बसोबास रहेका गाउँबस्ती सकिन्छन् । यस पदमार्गले समेटिएको चिमखोलाको सेतिनी भ्यालीमा होटल सुविधा भए त्यहाँदेखि अगाडिको यात्रा भने क्याम्पिङ बन्दोबस्तको तय गर्नुपर्छ । 
टोड्के–धौलागिरि पानोरमा, धौलागिरि सेञ्चुरी र धौलागिरि आइसफल गरी तीन वटै पदमार्गले समेटिएको सेतिनी भ्यालीबाट नेपाली पर्यटक एक दिन र विदेशी पर्यटक दुई दिनकै यात्रामा धौलागिरि हिमालको दक्षिणी आधार शिविर पुग्न सकिन्छ । रघुगङ्गा नदीको किनारै किनार, वनजङ्गल, भीर पहाड र भञ्ज्याङ हुँदै निर्माण भएको यस पदमार्गको यात्रा साहसिक र रमणीय मानिन्छ ।

हिमालसँगै नदीनाला, खोला, झरना, ताल तलैयाकोे अवलोकन गर्न सकिन्छ । आधार शिविर नजिकैसम्म ग्लेसियरको सामाना गर्न नपर्ने भएकाले अन्य आधार शिविरको तुलनामा यो आधार शिविर पर्यटकको बसोबासका लागि सुरक्षित र कम जोखिमपूर्ण मानिन्छ । आधार शिविरमा रहेको निली बराह ताल र पदमार्गका ठाउँठाउँमा रहेका सेतीबराह, कालीबराह, लाटीबराहलगायतका ताल, तलैया पर्यटकका थप आकर्षण हुन । 

कालीबराह हुँदै मुस्ताङको लेते जोडिएको यो पदमार्ग एक सातादेखि १० दिनको पदयात्रामा पूरा गर्न सकिन्छ । यस पदमार्गको अध्ययन, खोज र अनुसन्धान भएकलाले नक्साङ्कनसहित पर्यटन पूर्वाधार बनाउन प्रदेश र सङ्घीय सरकारमा पहल थालिएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा विश्वको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुन सम्भावना रहेको उनको भनाइ छ । रासस 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update