Khabar Out
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।  

जर्मनीको राजधानी बर्लिनमा मङ्गलबार आयोजित समानतासम्बन्धी सम्मेलनका क्रममा नारीवादी परराष्ट्र नीतिसम्बन्धी सत्रमा उनले नारीवादी नीतिको अनुसरण गर्न आवश्यक भएको बताइन् ।  

मन्त्री डा राणाले भनिन्, “नारीवादी परराष्ट्र नीतिले बहिष्करणमा आधारित पितृसत्तात्मक संरचनालाई चुनौती दिन्छ । यो नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तलाई प्राथमिकतामा राख्दछ र समग्रमा मानव सुरक्षा भन्ने बृहत् अवधारणालाई अघि सार्दै कूटनीतिमा सबैलाई समान रूपमा व्यवहार गर्दछ ।” यो नीतिले आपसी समझदारी र समभावको मान्यतामा रहेर लैङ्गिक तथा यौनिक लगायत अन्य अल्पसङ्ख्यकहरूको अधिकार र चासोहरूलाई पनि सुरक्षित गर्न सहयोग गर्ने उनको भनाइ थियो ।

मन्त्री डा राणाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसङ्ख्यकहरूको अधिकारका क्षेत्रमा भने नेपाल विश्वमै उदाहरणीय रहेको बताएकी थिइन् । सो सम्मेलनको ‘राष्ट्रिय कानुन र नीतिहरूमा समावेशिता’ विषयक अर्को सत्रमा उनले नेपालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजीबीटीक्युआई) व्यक्तिहरूको समावेशीकरण र अधिकारका पक्षमा धेरै उपलब्धि हासिल गरेको जानकारी दिइन् । रासस

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update