काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउँदा ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल)ले ऊर्जा मन्त्रालयमा आयोजना गरेको सार्वजनिक-निजी साझेदारीअन्तर्गत निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागिता गराउन आयोजित सम्झौता कार्यक्रममा मन्त्री खड्काले यो सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक भएको बताए ।
निजी क्षेत्रबाट प्रसारण लाइन निर्माणका लागि आरपिजिसिएलले निजी क्षेत्रको लगानी रहेका रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिसँग समेत सम्झौता गरेको छ । कार्यक्रममा ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबाट बन्न लागेको प्रसारण लाइन कोसेढुङ्गा सावित हुने बताए । ‘निजी क्षेत्रको साझेदारीमा यस्ता प्रसारण लाइन बनाउँदा निजी क्षेत्रलाई उत्साहित गर्ने मात्र होइन, खर्च कटौती र लक्ष्यप्राप्तिलाई पनि योगदान पुर्याउनेछ’, ऊर्जामन्त्री खड्काले भने ।
निजी क्षेत्रको सहभागिताबिना कुनै पनि क्षेत्रको विकास सम्भव नभएको मन्त्री खड्काको भनाइ छ । उनले प्रसारण गुरूयोजना दिगो खालको बनाउन सरकार लागेको बताए । मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता सम्झौताले सहयोग पुग्ने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत् उत्पादन र प्रसारणका क्रममा देखिएका वनका समस्या समाधान गर्न सरकार लागिपरेको बताए । उनले ऊर्जा उत्पादनमार्फत देशको विकास सम्भव भएकाले यसको विकासमा लाग्न सबैलाई आग्रह गरे । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले निजी क्षेत्र प्रसारण लाइनको निर्माणमा लाग्नु सरकारको लागि खुसीको कुरा भएको बताए । उनले निजी क्षेत्रबिना सरकार एक्लैले ऊर्जा क्षेत्रको विकास गर्न नसक्ने उल्लेख गरे ।
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीले मुलुकको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा जोड्नु उपलब्धीमूलक कुरा भएको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढिलै भए पनि प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई जोड्नु उपलब्धिमूलक कुरा भएको बताए । सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत आरपिजिसिएलले निर्माण गर्न लागेको प्रसारण लाइनमा आरपिजिसियलाई आवश्यक पर्ने ऋण लगानी हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)ले गर्ने सम्झौता भएको छ । रासस